दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीको माग

दार्चुला – दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीले माग गरेका छन् । टिङ्कर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ ।

टिङ्कर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्यास क्षेत्रका बासिन्दा र व्यापारीको जीविकोपार्जनमा असर परेको छ । नाका सञ्चालनको माग गर्दै व्यास गाउँपालिकाले केहीदिन अघि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई मागपत्र नै बुझाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारीमा रहेका बेला दार्चुलाको टिङ्कर नाकालाई पनि सञ्चालनका लागि माग गरिएको बताए । साथै टिङ्कर सडकमा थप बजेट व्यवस्थापन गर्न पनि आग्रह गरिएको उनको भनाइ छ । अहिले दार्चुला–टिङ्कर सडक खण्डको ७८ किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ ।

चालु आर्थिक वर्षमा टिङ्कर सडक निर्माणका लागि नेपाली सेनालाई ९ करोड ५० लाख रुपैयाँ मात्रै बजेट उपलब्ध गराएको भन्दै गाउँपालिका अध्यक्ष धामीले यो बजेट कम भएको बताए । गएको पुस २६ गतेदेखि निर्माण कार्य रोकिएको र सरकारसँग थप बजेट माग गरिएको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले व्यास गाउँपालिका र व्यवसायीले उठाएको माग जायज रहेको र मागपत्रलाई प्रधानमन्त्री कार्यालयसम्म पुर्याउने प्रतिबद्धता समेत जनाएका छन् ।

Loading...