सत्ता गठबन्धनबाटै उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं- सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसपाबाट दुई र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेको हो। शनिबार जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएका हुन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एक मात्रै उम्मेदवार तय गर्न नसकेपछि तीन वटा उम्मेदवारी दर्ता भएको हो।

रामसहायप्रसाद यादवको उम्मेदवारीको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्। उम्मेदवारी दर्तापछि उनले आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका थिए। ‘दलरुले समर्थन गर्नुभएकोमा धन्यवाद दिन्छु। निर्वाचित भएँ भने संविधानको रक्षा गर्ने पालना गर्ने राष्ट्रिय एकतालाई बलियो पार्न भूमिका खेल्छु’, उनको भनाइ थियो।

Navadurga sun
Godawari sandesh

जसपाले गत बिहीबारकै कार्यकारिणी समितिको बैठकबाट रामसहायप्रसाद यादवको नाम टुंगो लगाएको थियो। तर, राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने निर्वाचन आयोगको जोडका कारण जसपाले वैकल्पिक उम्मेदवार पनि तयार गरेको हो।

Dadeldhura hospital

यद्यपि, प्रमिलाले आफूले जित्नकै लागि उम्मेदवारी दिएको बताइन्। उनले आफ्नो उम्मेदवारी अन्तिमसम्मै कायम रहने पनि दाबी गरिन्। उनले आफूले पार्टीको निर्णय मानेको बताइन्। ‍ साथै जित्ने पूर्ण विश्वास भएको पनि बताइन्। उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। त्यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्।

जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाउने निर्णय लिएको थियो। बिहान बालुवाटारको बैठकबाट बाहिरिँदै गर्दा जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टी लगायतको समर्थनमा झालाई साझा उम्मेदवार बनाउने बताएका थिए। सोही अनुसार उम्मेदवारी दर्ता भएको हो।

उम्मेदवारी दर्तापछि झाले संविधानको मर्मलाई कायम राख्न आफूले उम्मेदवारी दिएको बताएकी छिन्। उनले संविधानको मर्मलाई बुझ्दै सशक्त पालना गर्नुपर्छ भनेर आफू कानुनको छात्राको हैसियतले स्पष्ट रहेको बताइन्। उनले ५२ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत अधिकार दिएको भन्दै त्यो दुःखलाग्दो कुरा भएको बताइन्। उनले आफू पार्टी र अध्यक्षको निर्णयबाट एक इन्च पनि तलमाथि नहुने बताइन्।

झाको उम्मेदवारीको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्। त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्। जनमत पार्टीका अध्यक्ष राउतले आफूहरुको उम्मेदवारी फिर्ता नहुने बताए। झाको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारमा सहमति नभए पनि गठबन्धनबाट भने नबाहिरिने बरु मित्रवत् प्रतिस्पर्धा गर्ने बताए।

नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार भएकी छिन्। उनले पनि शनिबार उम्मेदवारी दर्ता गराएकी थिइन्। एमालेको शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।

 

Loading...