दार्चुला- ४२५ किलोमिटर लामो पश्चिम तराईलाई त्रिदेशीय हिमाली क्षेत्र टिंकर नाकासँग जोड्ने महाकाली करिडोर सडक खण्डमा पर्ने वन क्षेत्रका रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न समस्या देखिएको छ । ठेक्का लागेर पनि लामो समयदेखि करिडोरमा पर्ने कञ्चनपुर र डडेलधुरमा रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ । सडक निर्माण गरिने क्षेत्रमा रूख कटानको अनुमति पाउन ढिलाइ हुँदा सडक निर्माणमा समस्या भएको महाकाली करिडोर सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।



करिडोरअन्तर्गतका सबै क्षेत्रमा ट्र्याक निर्माण गर्ने ठेक्का सम्झौता भइसकेको छ । तर वन क्षेत्रमा रूख कटानको अनुमति पाउन ढिलाइ भएकाले सडक निर्माण अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सडक निर्माणका लागि काट्नुपर्ने रूखको संख्या यकिन गर्ने, पुष्टि गर्ने, छपान गर्ने र कटानका लागि अनुमति दिने काममा लामो समय लाग्ने गरेको योजना प्रमुख जोशीको भनाइ छ ।


सडक निर्माणमा वन क्षेत्रबाट १९ हजार ६६ रूखहरू कटान हुने महाकाली करिडोर सडक योजना कार्यालयले जनाएको छ । सडक विभाग र वन विभागबीच गत वैशाखमा भएको सम्झौताअनुसार सबैभन्दा बढी बैतडीमा १० हजार ४ सय ७६ रूख कटान हुनेछन् । डडेलधुरामा ४ हजार ५ सय ९६ र दार्चुलामा २ हजार ४३ रूख कटान हुनेछन् । कञ्चनपुरमा १ हजार ९ सय ५१ वटा रूख काटिने जनाइएको छ ।
केही ठाउँमा रूख कटानको अनुमति दिए पनि प्रगति न्यून देखिने भएको छ । दार्चुला र बैतडीमा मात्र पूर्ण रूपमा रूख कटानको अनुमति पाएको महाकाली करिडोर सडक योजनाले जनाएको छ । तर फागुन मसान्तसम्म रूख कटान गरिसक्नुपर्ने समय दिएकाले ट्र्याक नखोलिएको ठाउँमा काम गर्न अप्ठ्यारो रहेको सडक योजना कार्यालयका सूचना अधिकारी योगेन्द्र अधिकारीले बताए ।

फागुन ३ मा दार्चुला र बैतडी क्षेत्रमा पर्ने सडक खण्डमा रूख कटानको अनुमति प्राप्त भएको छ । ‘फागुन मसान्तसम्म सबै ठाउँमा सडकको ट्र्याक खोल्न नसकिने हुनाले रूख कटान यस वर्ष सकिने अवस्था छैन । रूख काटेर त्यत्तिकै फाल्न मिलेन । व्यवस्थापन गर्नुपर्ने भएकाले समय लाग्छ,’ उनले भने । यसका लागि छोटो समय मिलेको उनको भनाइ छ ।
करिडोरको दार्चुलामा दुई हजार ४३ वटा रूख कटान गर्न अनुमति प्राप्त भएको छ । माघ १६ मा वन विभागबाट अनुमति पाएपछि धरमघरदेखि अम्तोलासम्मको क्षेत्रमा सडक निर्माण गर्न बाटो खुलेको अधिकारीले जनाए । करिडोरअन्तर्गत दार्चुलामा ३७ किमि लामो ट्र्याक खोल्न बाँकी रहेको योजनाले बताएको छ । सडक निर्माणका लागि दार्चुलामा ६२।२ हेक्टर वन क्षेत्रको जमिन प्रयोग गर्न लागिएको छ । डिभिजन वन कार्यालय दार्चुलाले तयार गरेको लगतअनुसारका रूख कटान गर्न बाटो खुलेको अधिकारीको भनाइ छ ।
गत वर्षदेखि नै महाकाली करिडोर क्षेत्रमा पर्ने रूख कटान गर्न पहल गरिएको महाकाली करिडोर सडक योजनाका प्रमुख जोशीले बताए । सडक विभाग र वन विभागबीच दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाको सडक निर्माण क्षेत्रमा पर्ने रूख कटान गर्नेबारे ०७८ वैशाखमा लिखित सहमति भएको थियो । यसअनुसार दार्चुला र बैतडीमा पूर्ण रूपमा रूख कटानको अनुमति मिलेको छ । डडेलधुरा र कञ्चनपुरमा आंशिक अनुमति मिलेको छ ।
डिभिजन वन कार्यालयको समन्वयमा रूख काटिने तथा काटिएका काठ र दाउरा लिलाम बिक्री गरी राजस्वमा दाखिला गरिने जनाइएको छ । वन ऐन ०७६ को दफा ४२ र राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिनेसम्बन्धी मापदण्डसहितको कार्यविधि ०७६ अनुसार रूख कटान गरी सडक निर्माणका लागि वन क्षेत्र उपलब्ध गराउन लागिएको डिभिजन वन कार्यालय दार्चुलाले बताएको छ ।
बैतडीमा २३ किमि लामो सडक निर्माण क्षेत्रमा रूख कटानको सहमति प्राप्त भएको सडक योजना कार्यालयले बताएको छ । करिडोरअन्तर्गत बैतडीमा १४१ किमि सडक खण्ड पर्छ । डडेलधुरामा ५८ किमिमध्ये १४ किमि लामो वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ । अझै ४४ किमि सडक खण्डको विभिन्न ठाउँमा रूख कटानको अनुमति मिलेको छैन । कञ्चनपुरमा पर्ने ११ किमि लामो क्षेत्रमा रूख कटानको अनुमति पाउन बाँकी रहेको महाकाली सडक योजनाले बताएको छ ।
तराई–हिमाल जोड्ने यो करिडोर सडकको ९१ किमि दार्चुला–टिंकर सडक खण्डमा नेपाली सेनाले ट्र्याक खोलिरहेको छ । बाँकी ३३४ किमि सडक खण्डमा करिडोर सडक योजनाले ट्र्याक खोल्ने र सडक स्तरोन्नतिको काम पनि गरिरहेको छ । सडक योजनाको क्षेत्रमा ११९ किमि ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनाले ९१ किमिमध्ये साढे ८ किमिमा ट्र्याक खोलेको छ । कान्तिपुरबाट




