

बझाङ- जिल्लाको साइपाल गाउँपालिकाका जनप्रतिनिधिले ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन्। निर्माण व्यवसायीले समयमै काम नगरी ढिलो गरेको बताउँदै उनीहरूले यस्तो माग गरेका हुन्। दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यो सडकखण्डलाई बझाङका साथै सुदूरपश्चिम प्रदेशकै विकासको मेरुदण्ड मानिन्छ। यति महत्त्वपूर्ण भए पनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन।


निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काम नगरेको उनीहरूको ठम्याइ छ। सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आँकलन भएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले जानकारी दिए। कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने अध्यक्ष बोहराले स्पष्ट पारे।



निर्माण व्यवसायीको जिम्मा दिँदा यो काम पूरा हुन अझै १० वर्ष लाग्न सक्ने उनको भनाइ छ। सेनाले काम गरिरहेको हुम्ला लगायतका जिल्लामा सेनाले रातदिन नभनी काम गरिरहेको उनले उदाहरण दिएका छन्। निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइ छ। संघीय सरकारले प्रत्येक वर्ष बजेट छुट्टयाएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए। बुधबार मात्रै बझाङका प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका थिए।
यो वर्ष सडक निर्माणको कामले गति नलिएको समेत जोशीले बताए। साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडक खण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताइन्।
सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भइरहेको यो सडक छिटो छरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि ठेक्का लिएका निर्माण कम्पनीहरूको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्।
रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झनै सुस्त देखिएको छ। रूपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले २०७४ मंसिरमा काम शुरु गरेको थियो। हालसम्म ७५ प्रतिशत काम सकिएको र बाँकी ३० प्रतिशत काम गर्न अझै बाँकी रहेको चैनपुर ताक्लाकोट सडक खण्डका डिई तुलाराम शर्माले बताए।

