ताक्लाकोट नाका खुलाइदिन प्रधानमन्त्रीसँग गुहार

बझाङ- नेपाल र चीनको व्यापारिक नाका उरैसाइपाल (ताक्लाकोट) नाका खुलाउन साइपालवासीले प्रधानमन्त्रीलाई गुहारेका छन्। व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवर्धन गर्न साइपालवासीले उक्त नाका वैधानिक रूपमा सञ्चालनमा ल्याउन माग गरेका हुन्।साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ लगायत जनप्रतिनिधिले साइपालवासीका लागि मात्र नभएर सुदूरपश्चिमका लागि महत्त्व राख्ने नेपाल–चीनको सीमानाका उरैसाइपाल (ताक्लाकोट) नाकालाई वैधानिक रूपमा खुला गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग गाउँपालिकाको एकल प्रयासबाट सम्भव नहुने भन्दै उक्त नाकालाई वैधानिक रूपमा खुला गर्नुपर्ने, साइपालमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको स्थापना गर्नुपर्ने लगायतका ११ वटा विभिन्न योजनाबारे छलफल गरेर पहल गर्न र रकम छुट्याउन माग गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले खुलासा गरिन्। प्रधानमन्त्री दाहालले उक्त कुरामा आफू सकारात्मक रहेको बताए।

Navadurga sun

अवैध आवतजावत हुने उरैसाइपाल (ताक्लाकोट) नाका कोरोना महामारीपछि बन्द भएपछि सञ्चालनमा आएको छैन। नाका बन्द हुँदा साइपालवासीले प्रत्येक वर्ष रोजगारी गुमाउँदै आएको, मानसरोवर कैलास दर्शन गर्ने धार्मिक पर्यटक आउन छोडेको र व्यापार व्यवसायसमेत ठप्प भएका कारण वैधानिक रूपमा नाका सञ्चालन हुने गरी पहल गर्न माग गरेको गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए।

उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले सरकारले उरैसाइपाल नाका तत्काल खुलाउन पहल गर्नुपर्ने बताए। अझै पनि साइपाल गाउँपालिका सडक सञ्जालसँग नजोडिएका कारण साइपालका स्थानीयले महँगोमा प्रत्येक सामान प्रयोग गर्न बाध्य रहेको बताउँदै उनले उक्त नाका सञ्चालन भए उपभोग्य सामग्री, विकास निर्माणका सामान र इन्धन सुपथ मूल्यमा प्राप्त हुने बताए। उनले वर्षौंदेखि साइपालवासीले व्यापार गर्न चीनमा जाने अवसरबाट वञ्चित हुनुपरेको बताउँदै नाका बन्दका कारण जिल्लावासीले घाटा बेहोर्नु परेको बताए।

२०७८ साल चैत २८ गते बझाङको सदरमुकाम चैनपुरमा नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टरबाट साइपाल भ्रमण गरेका थिए। सोही कार्यक्रममा बोल्दै उनले उरैसाइपाल ९ताक्लाकोट० नाकालाई वैधानिक नाकाको रूपमा खुलाउने कुरामा एमालेको ध्यान गएको बताएका थिए। चीन र नेपाल जोड्ने सबैभन्दा छोटो दूरीको नाका उरैसाइपाल नाका भएको समेत उपाध्यक्ष डोल्मा तामाङले बताइन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...