धनगढी– भैरहवामा जारी खड्गप्रसाद गौचन मेमोरियल यू-१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले लगातार दोस्रो जित हात पारेको छ ।


आइतबार भएको खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी(सिईसी)लाई ८ रनले पराजित गरेको हो । डिसिएले दिएको ८९ रनको लक्ष्य पछ्याएको सिईसी २०.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो ।



सिईसीका लागि ओमकर यादवले ३४ तथा सिद्धान्त साउद र स्मिथ बुढाले समान १४-१४ रन बनाए । डिसिएका निरज ऐर, दिनेशराज जोशी र निशान्त रेग्मीले समान २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको डिसिएले २०.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । डिसिएका आशिष लुहारले १७ र निरज ऐरले १४ रन जोडेका थिए ।
सिईसीका किरण घर्तीमगरले ४ तथा ओमकार यादव र सिवाकर श्रेष्ठले समान २-२ विकेट लिए । डिसिएले यसअघि शनिबार भएको खेलमा बुटवलको न्यू होइजन एकेडेमीलाई पराजित गरेको थियो ।





