

दार्चुला- नेपाल–भारत सीमा नदी महाकालीमा निर्माण भएका दुईवटा झोलुङ्गे पुल बिहीबारबाट औपचारिक रूपमा सञ्चालन हुने भएका छन् । दार्चुलाको व्यास गाउँपालिका २ मालगाउँ र व्यास ४ मलघट्टेमा बनेका पुलमा नेपालतर्फ सुरक्षाको प्रबन्ध मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुल दुवै देशका सम्बन्धित जिल्लाका अधिकारीको समन्वयमा औपचारिक सञ्चालन गर्न लागिएको हो । मालमा सशस्त्र प्रहरी र मलघट्टेमा नेपाल प्रहरीले सुरक्षा दिने निर्णय भएको हो ।


भारतीय प्रशासनलाई पनि पुलमा सुरक्षा प्रबन्ध मिलाउन पत्राचार गरिएको छ । पुलहरूको नियमित सुरक्षा र सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले तत्कालका लागि मलघट्टे पुलमा नेपाल प्रहरी र मालको पुलमा सशस्त्रको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
व्यास गाउँपालिकाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) पनि राखिने भएको छ । बीओपी नबनेसम्म मलघट्टेमा नेपाल प्रहरीले पुलको सुरक्षा र सञ्चालनको जिम्मेवार लिनेछ । तत्काललाई मलघट्टे पुलमा जनपद प्रहरी खटाउन लागिएको हो । केही समयपछि दुवै पुल सुरक्षाको जिम्मेवारी सशस्त्रले सम्हाल्ने प्रजिअ उपाध्यायको भनाइ छ ।