बझाङ- बाबुको मृत्युपछि आमाको संरक्षणमा रहेका तीन बालबालिका बिचल्लीमा परेका छन् । गत मंसिरमा आमाले अर्को विवाह गरेपछि साइपाल गाउँपालिका–२ जिमाका १३ वर्षीया सुनिता बोहरा, १० वर्षीय अर्जुन बोहरा र ७ वर्षीया सन्दीपा बोहरा अलपत्र परेका हुन् । ०७२ असारमा यार्चा टिपेर फर्किने क्रममा उनीहरूका बुवा दुर्क बोहराको खोलामा बगेर मृत्यु भएको थियो । त्यसयता उनीहरूको लालनपालन आमा अमृता बोहराले गर्दै आएकी थिइन् ।

आमाले पनि छाडेर गएपछि विपन्न परिवारका यी बालबालिकालाई दैनिक जीवनयापनमा समस्या हुन थालेको छ । वृद्ध बाजेबज्यैको स्याहारको अभिभारासमेत जेठी छोरी सुनिताको काँधमा आएको छ । ‘आमाले छोडेर गएपछि राम्रोसँग खान पनि पाएका छैनौं, भाइबहिनीलाई कसरी पाल्ने, कसरी पढाउने सोच्न सकेको छैन,’ कक्षा ६ मा अध्ययनरत सुनिताले भनिन्, ‘बाजेबज्यैको रेखदेख कसरी गर्ने ?’
बाजे रतिभान बोहरा र बज्यै रूपा दुवै ७४ वर्षका छन् । अमृताले जडिबुटी टिपेर र स्थानीय स्तरमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी थिइन् । अहिले बालबालिकालाई खान–लाउन समस्या भएको र खर्च अभावमा पढाइसमेत छुट्ने अवस्था रहेको काका रवीन्द्र बोहराले बताए । ‘हामी आफैं गरिब छौं, अहिलेसम्म सहयोग गरे पनि सधैं नसकिएला, यिनीहरूको बिचल्ली हुने भयो,’ उनले भने ।
पालिकाका तर्फबाट केही राहत दिन सकिए पनि उनीहरूको जीविका र शिक्षाको ग्यारेन्टी नहुने भएकाले कुनै संघसंस्थाले लगेर पढाइदिए राम्रो हुने गाउँपालिका अध्यक्ष मानवीर बोहराको भनाइ छ ।