धनगढी– कैलालीमा करिव १२ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । आज (मंगलबार) दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपडा उद्योगका सञ्चालक दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धन बहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए । उनीहरुको साथबाट ११ किलो नौँ सय ग्राम चरेश र १ थान डिजिटल काँटा बरामद गरिएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।