विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्दै सुदूरपश्चिमका मुख्यमन्त्री

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्ने पक्षमा देखिएका छन्। सर्वोच्च अदालतमा विचाराधीन रहेको टिकापुर घटनाको फैसलापछि मात्र प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने देखिएको छ। २०७२ साल भदौ ७ मा भएको आन्दोलनमा ८ प्रहरीसहित एक नाबालकको हत्या भएको मुद्दाको पेसी मंगलबार तोकिएको छ।

थारु नेता लक्ष्मण थारुले उक्त मु्द्दाको पेसी मंगलबार रहेको जानकारी दिए। सर्वोच्चले भोलि नै फैसला गरेमा सोही अनुसार नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारलाई सहयोग गर्ने वा नगर्ने निर्णय लिने पक्षमा छ। उन्मुक्तिले थारू नेता रेशम चौधरीसहित टिकापुर घटनाका राजबन्दी रिहा नभएसम्म प्रदेश सरकार गठनमा समर्थन नगर्ने प्रतिक्रिया दिँदै आएको छ।

उन्मुक्तिलाई फकाउन मुख्यमन्त्री रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उन्मुक्तिका नेता रेशम लगायतसँग भेटघाट गरेर फर्किएका थिए। भेटघाट गरेर फर्किएको चार दिन बितिसक्दा पनि मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे निर्णय गर्न सकेका छैनन्।

 

Loading...