काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो ।

यस्तै समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।
यस्तै सांसद डिपी अर्याल श्रम, शिशिर खनाल शिक्षामन्त्री र डा.तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् । रास्वपा सांसद इन्दिरा राना मगर शनिबार मात्र उपसभामुखमा निर्वाचित भएकी थिइन् ।