घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ- नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर समाजवादीमा प्रवेश गरेका हुन्। बुधबार मात्रै समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो।

माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गरेका हुन्। नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए। २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि थिए।

तर नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा उनले माधव नेपाललाई साथ दिएका थिएनन्। तर मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ मा उठेका थिए। उनलाई नेपाली कांग्रेस र माओवादीको पनि साथ मिल्दा उनले एमालेका छविलाल विश्वकर्मासँग पराजय व्यहोरेका थिए।

मंसिर ४ को निर्वाचनपछि उनी नेपालनिवास कोटेश्वर पुगेर वार्ता गरेका थिए। त्यसपछि उनले सोमबार मात्रै समाजवादीलाई पार्टी प्रवेशबारे एउटा दस्तावेज पठाएका थिए। उक्त दस्तावेजको समाजवादीले उत्तर दिँदै भुसाललाई पार्टीमा स्वागत गर्न तयार रहेको जनाएको थियो। दुवै पक्षबीच कुरा मिलेपछि एमालेका तत्कालीन अर्थ तथा योजना विभाग प्रमुख भुसाल अब समाजवादीको महासचिव बन्ने भएका छन्।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.