घरभन्दा विद्यालय प्यारो

बझाङ- शनिबार पनि किन आउँछ होला जस्तो लाग्छ, दिनदिनै विद्यालय जान पाए हुन्थ्यो लागिरहन्छ, बझाङको चक्रेश्वर माध्यमिक विद्यालय मालुमेलामा कक्षा–६ मा अध्ययनरत विराज ऐरले भने, ‘अचेल घरभन्दा विद्यालय प्यारो लाग्छ।’एक घण्टाको पैदल हिँडेर विराज मात्र होइन उहाँका अरू साथीभाइसमेत नियमित विद्यालय आउँछन्।

जिल्लाका विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयहरूमा, प्रारम्भिक तह पढाइ कार्यक्रममार्फत विभिन्न शैक्षिक सामग्रीको प्रयोग गरी शिक्षण गर्नुका साथै विद्यालय स्तरमा विभिन्न शिक्षण सिकाइ क्रियाकलाप सुरु भएपछि विद्यार्थीको पढाइमा रुचि बढ्नुका साथै विद्यालयमा हाजिर हुने दरसमेत बढेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सोही विद्यालयमा अध्ययनरत विद्यार्थी भावना भण्डारीले भने, ‘विभिन्न शैक्षिक सामग्रीको प्रयोगबाट शिक्षण सिकाइ गर्नुका साथै भोक लागेका बेला खाजाको समेत व्यवस्था हुँदा निर्धक्क तरिकाले विद्यालयमा पढ्न मन लाग्छ।’

प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत विशेष गरेर बाल कक्षाका विद्यार्थीलाई विभिन्न चित्र देखाएर, नाचगान गाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ। यसबाट विद्यालयमा हाजिर हुनेको सङ्ख्या मात्र बढेको छैन विद्यालय छोड्ने दरसमेत घटेको चक्रेश्वर माविका प्रधानाध्यापक वीरेन्द्र गिरीले बताए । उनले नियमित रूपमा विद्यालयमा अतिरिक्त क्रियाकलाप आयोजना गर्ने तथा विद्यार्थीको स्वास्थ्य परीक्षणसमेत गरिने बताए ।

उनका अनुसार विगतमा यस विद्यालयमा अध्ययन पूरा नगरी विद्यालय छोड्ने दर निकै चुनौतीका रूपमा थियो। विश्व खाद्य कार्यक्रमको सहयोगमा बझाङ जिल्लामा विद्यालय सरसफाइ, प्रारम्भिक तह पढाइ कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू भएका छन्। विश्व खाद्य कार्यक्रमका बझाङ प्रतिनिधि राजेन्द्र रसाइलीले जिल्लाका ४६२ विद्यालयका झन्डै पाँच हजार ५९ जना विद्यार्थीले लाभ लिएको बताए ।

चक्रेश्वर मावि मालुमेलामा अनुगमनका क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शैक्षिक गुणस्तर सुधारका लागि सरकारको साझेदारीमा विश्व खाद्य कार्यक्रमले विद्यालयमा गरेका कार्यक्रम उपलब्धिमूलक भएको समेत बताए । उनले विगतको अवस्था हेर्दा अहिले शिक्षा क्षेत्रमा निकै सुधार भएको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षबाट लाग्नुपर्ने समेत बताए ।

Loading...