सल्यान- सल्यानमा बस दुर्घटना हुँदा ११ यात्रुहरू घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका १ दमाचौरदेखि दाङको तुलसिपुरतर्फ जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिकाको पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका १ दमाचौरका भद्रवीर खत्री, काल्चेकी ७३ वर्षीया चम्पादेवी शर्मा, ३५ का नारायण प्रसाद हमाल, दहखोलाका ३७ वर्षीय चिरन्जिवी खडका, कल्लेरीका २४ वर्षीय भुपेन्द्र चन्द, त्रिवेणी गाउँपालिका ६ लुहामकी ४० वर्षीया टीका नेपाली, ५१ वर्षीया मायादेवी नेपाली, सिद्धकुमाख गाउँपालिका ३ ढोडचौरकी २३ वर्षीया तुलसा देवकोटा, बाझकाँडाका ३९ वर्षीय राजेन्द्र कुमार चलाउने, शारदा नगरपालिका ६ मधमकाँडाका ३१ वर्षीय खुमलाल केसी, शारदा नगरपालिका १५ स्यालपानीका १९ वर्षीय प्रवेश बोहरा रहेका छन् ।
घाइते भएका सबैलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर श्रीनगर ल्याएको र उनीहरुको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । केही यात्रु भने उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

यात्रुवाहक बसमा ३९ जना सवार थिए । दुर्घटनाको कारण खुल्न नसके पनि चालककै लापर्बाहीका कारण दुर्घटनामा परेको जस्तो देखिएको र थप अनुसन्धान भइरहेको उनले बताए । चालक छत्रेश्वरी गाउँपालिका १ दमाचौर घर भएका ताराप्रसाद ओली प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।
