बैतडीमा १९ हजार ७ सय मत बदर

बैतडी – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए ।

जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गरे। उनले भने, ‘काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक हो ।

मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन।’ धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए। उनले भने, ‘केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।’

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७७ हजार चार सय ६० मतमात्रै खसेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई क्षेत्र रहेको यस जिल्लामा २२ उम्मेदवार चुनावी मैदानमा थिए। यहाँ प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर भण्डारी तथा प्रदेशसभा क्षेत्र नं १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्। रासस

Loading...