सरसफाइ गरे डेङ्गुबाट जोगिन्छ

धनगढी- कैलालीमा डेङ्गु सङ्क्रमण बढिरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले घर वरिपरि सरसफाइ गर्न जिल्लावासीलाई आग्रह गरेको छ। डेङ्गुबाट जोगिने उपायमध्ये सरसफाइ सबैभन्दा उत्तम विधि रहेको भन्दै सो कार्यालयले घर वरिपरि सफा राख्न र पानी जम्न नदिन आग्रह गरेको हो। सरसफाइ गरेमा डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि रोकिने जनाइएको छ।

एडिस एजिप्टाइ प्रजातिको डेङ्गु सङ्क्रमित लामखुट्टेको टोकाइबाट मान्छेमा डेङ्गु रोग लाग्ने गर्दछ। प्लास्टिकको बट्टा, भाँडा, ड्रम, टायर, डिब्बालगायतका वस्तुमा एक हप्तासम्म पानी जमेमा त्यसमा लामखुट्टेले फूल पारेर बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘अहिले लामखुट्टे बढी लाग्ने समय भइरहेकाले घर वरिपरि, कार्यालय, पसल छेउछाउमा रहेका यस्ता ठाउँको पानी सुकाउनुका साथै सरसफाइ गर्न आवश्यक छ’, उनले भने, ‘यदि, एक हप्ता मात्रै पानी जम्यो भने त्यसमा लामखुट्टेको जीवनचक्र पूरा भई सङ्ख्या वृद्धि हुन्छ।’

Navadurga sun

यसैगरी घरमा रहेका पानीट्याङ्की पनि राम्रोसँग बिर्को लगाएर राख्न आग्रह गरिएको छ। ‘ट्याङ्कीमा ढक्कन नभएमा त्यसमा लामखुट्टेले फूल पार्ने गर्दछन्’, धामीले भने। उनका अनुसार डेङ्गु सङ्क्रमित लामखुट्टेको फूलसमेत सङ्क्रमित हुने गर्दछ। त्यस्ता फूलबाट निस्किने बच्चा सबै सङ्क्रमित हुने गरेका जनाइएको छ। सङ्क्रमित लामखुट्टेले धेरै जनालाई टोक्न सक्ने बताइएको छ।

डेङ्गु रोग सार्ने लामखुट्टेले विशेष गरेर बिहानपख, दिउँसो र झिसमिसे साँझको समयमा टोक्ने गरेका छन्। राति टोक्दैनन्। डेङ्गु मात्रै नभई लामखुट्टेको टोकाइका कारण लाग्ने सबैखाले रोगबाट जोगिन घर वरिपरि सफा राख्न वा पानी जम्ने ठाउँमा पटक÷पटक मट्टीतेल÷डिजेल छर्कन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...