बझाङ- विद्यालय कर्मचारी परिषद्ले गरेको आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ । कर्मचारी परिषद्ले भदौ १२ गते आइतबार देखि देशभरका सरकारी विद्यालय एक साता बन्द गर्ने घोषणा गरे अनुसार बझाङका सरकारी स्कुलमा पढाइ बन्द भएको हो ।



परिषद्ले सरकार समक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द गरिएको सत्यवादी माविका शिक्षक शेरबहादुर ओलीले जानकारी दिए ।



बझाङको जयपृथ्वी नगरपालिका सहित जिल्लाका १२ वटै पालिकाका सरकारी विद्यालयको पठनपाठन पनि आइतबार देखि एक साताका लागि बन्द भएका छन् ।
नेपाल कर्मचारी परिषद्ले माग सम्बोधन गराउन दबाब स्वरुप भदौ १ गतेबाट नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद प्रदेश सदस्य देवीभक्त जोशीले बताए ।
परिषदले शनिबार एक विज्ञप्ति समेत जारी गर्दै विद्यालय बन्द गरि उक्त कार्यमा सहयोग गरिदिन हुन भनि आग्रह गरेको थियो ।




