धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । धनगढीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका प्रमुख पदम कलेलले आर्थिक रुपले जे–जति सहयोग गर्न सकिन्छ स्वाथ्य स्वयमसेविकाहरुलाई सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जिल्लाका सात वटा स्थानीय तहहरु पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको बताए । सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको पनि उनले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले स्वाथ्य स्वयमसेविकाहरुलाई उपमहानगरपालिकाबाट हुने सहयोग पूर्णरुपमा गर्न तयार रहेको बताइन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगरको स्वास्थ्यलाई राम्रो बनाउनमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । स्वास्थ्य स्वयमसेविकाका मागहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
