


सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने कार्ययोजना बननएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए ।


संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल जेठ ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले जानकारी दिए ।



आज बुधवार न्युज एजेन्सी नेपलसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए । उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।
उनले भने, ‘जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुन्छ । जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी छ ।’
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर चल्ने बताए । पाण्डेका अनुसार प्रतिनिधि सभासँगै जेठ ३ गतेदेखि राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताए ।





