सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा विज्ञापन खोल्ने तयारी
धनगढी- सुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ । प्रदेशबाटै कर्मचारी भर्ना गर्ने उद्देश्यले आयोग गठन गरिएको हो । यज्ञराज बोहराको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम लोक सेवा आयोगमा लक्ष्मण खड्का र भागरथी राना सदस्य रहेका छन् ।




आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन् । रिक्त दरबन्दीमा तत्काल कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।


कर्मचारी भर्ना गरेर दुई तहकै सरकारको कार्यसम्पादनमा सहज हुने आयोगको दाबी छ । प्रदेशभर २ हजार ३ सय ११ कर्मचारीको दरबन्दी रहेकोमा चार सय ७० जना प्राविधिक र चार सय ६३ जना अप्राविधिक गरी नौ सय भन्दा बढी कर्मचारीको पद अहिले पनि रिक्त रहेको छ ।

