बाजुरा अटो दुर्घटना : चालक पाध्याय पक्राउ




बाजुरा, २० मंसिर– साँफे–मार्तडी राजमार्गमा पर्ने थुवाकाँधमा आइतबार अटोरिक्सा दुर्घटना गरी फरार भएका चालक खेमराज पाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति नै प्रहरीले नियन्त्रणमा लिएको हो ।



अटोरिक्सा दुर्घटना गरी फरार रहेका पाध्याय बडीमालिका नगरपालिका–२ घागरको जंगलबाट राति करिव १ बजे नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउँदले जानकारी दिए । उनले दिएको जानकारी अनुसार अटोरिक्सा दुर्घटना गरी फरार रहेका पाध्यायलाई नियन्त्रणमा लिई घटनाका थप अनुसन्धान भइरहेको बताए ।


अटो रिक्सा दुर्घटना हुँदा बुढीगंगा नगरपालिका–१ अम्कोटका खगेन्द्र पाध्याय र प्रकाश नेपालीको घटनास्थलमै मृत्यु भएको हो । अटोरिक्सा दुर्घटनामा सोही नगरपालिका–२ बल्देका धनबहादुर केसी र अम्कोटका भीम खत्री घाइते भएका छन् । केसीको अवस्था सामान्य रहेको छ । भने खत्रीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । खत्रीलाई चोट बढी लागेकोले उपचारमै रहेको प्रहरीको भनाई रहेको छ । नियन्त्रणमा लिएका पाध्यायलाई कानुनी कारबाही गरिने प्रहरी निरीक्षक साउँद बताउँछन् ।



