आजदेखि १०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा सुरु, औपचारिक उद्घाटन मङ्सिर १६ गते

काठमाण्डौ- लामो प्रतीक्षापछि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।

दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदित खेल तालिकाअनुसार आजदेखि ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल समावेश छन् ।

Navadurga sun

प्रतियोगितामा समावेश ३२ खेलमध्ये २३ खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका प्रतियोगिता हुनेछन् ।

त्यस्तै, टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा, बुद्धिचाल कालिकोटमा तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुने तय भएको छ ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशका अधिकांश स्थानमा तयारी पूरा भएको छ । विभिन्न प्रदेशबाट खेलाडीहरू पनि वीरेन्द्रनगर आइपुगेका छन् । वीरेन्द्रनगरस्थित रंगशाला सोमबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ । रंगशालाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन् ।

प्रतियोगिताको प्रचारप्रसार तथा स्वागतका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्‍यालीसमेत निकालिएको थियो । र्‍यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुदलाई खेल क्षेत्रको महत्वपूर्ण उत्सवका रूपमा हेरिएको छ । प्रतियोगिताका अधिकांश खेल सुर्खेतस्थित रंगशाला तथा अन्य खेलस्थलमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मङ्सिर २७ गते हुने तालिका रहेको छ ।

ADD Khali jpg
Loading...