धनगढी- जलवायु परिवर्तन, विपद् व्यवस्थापन र डिजिटल सञ्चारका विषयमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा तथ्यांकमा आधारित पत्रकारिता तालिम सम्पन्न भएको छ ।




अग्रलेख मल्टिमिडियाको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय पत्रकारिता तालिम तीन दिनसम्म सञ्चालन भएर सोमबार सम्पन्न भएको हो ।





तालिममा जलवायु परिवर्तन, जलवायु पैरवी, विपद् व्यवस्थापन, डिजिटल सञ्चार तथा पत्रकारितामा एआई र तथ्यांकको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट २४ जना पत्रकारको सहभागिता रहेको थियो ।


तालिममा वातावरण विज्ञ तथा पत्रकार रमेश भुसाल र आईटी विज्ञ तथा पत्रकार अरुण कार्कीले प्रशिक्षण दिएका थिए । उनीहरूले जलवायु परिवर्तनका प्रभाव, वातावरणीय मुद्दाको उठान, विपद्का घटनाको तथ्यमा आधारित रिपोर्टिङ, डिजिटल सञ्चारका माध्यम तथा पत्रकारितामा एआईको प्रयोगबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोर्कणप्रसाद भट्ट र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
तालिमले पत्रकारहरूलाई जलवायु परिवर्तन र विपद्का विषयमा तथ्यांक तथा अनुसन्धानमा आधारित समाचार सामग्री तयार गर्न, डिजिटल प्रविधिको उपयोग गर्न र पत्रकारितामा एआईको प्रभावकारी प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र प्रविधिको प्रयोगसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् ।




