बझाङ- बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।




मंसिर ३० गते बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।





जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५\४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको छ। दुर्घटनामा एक बालक बेपत्ता भएका छन् ।


अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि अटो चालक र अन्य सवार व्यक्तिबारे थप विवरण खुल्न सकेको छैन ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पोस्टबाट घटनास्थल पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने जनाइएको छ ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




