धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।




मंगलबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले सरकारले बुधबार बजेट प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका हुन्।





सरकारकै आग्रहमा सभामुख भीमबहादुर भण्डारीले बुधबार साँझ ५ बजे प्रदेश सभाको बैठक बोलाउने गरी कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको छ।


बुधबार बस्ने प्रदेश सभा बैठकको मुख्य कार्यसूचीमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने विषय राखिएको मन्त्री रावलले जानकारी दिएका छन्।
सरकारले बजेटको आकार भने सार्वजनिक गरेको छैन। तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। तर, उक्त बजेटका विषयमा उत्पन्न विवादका कारण बजेट पारित हुन सकेन।
बजेट विवादकै कारण प्रदेशमा नेकपा र एमालेबीच नयाँ राजनीतिक समीकरण बनेको थियो। एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको करिब डेढ महिनापछि वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउन लागेको हो।
बुधबार प्रस्तुत हुने बजेट सुदूरपश्चिम प्रदेश सभाको वर्तमान कार्यकालको अन्तिम बजेटसमेत हुनेछ।




