पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दामा सोमबार पेसी

धनगढी- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सो मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो।

Navadurga sun

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा बहाल रहँदा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले सोही रकमलाई बिगो कायम गरी २०८२ जेठ १९ गते विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो।

अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

अख्तियारको अनुसन्धानअनुसार उक्त अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायतबाट ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी भएको देखिएको छ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी र चुनाव खर्चलगायत शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च भएको अख्तियारको दाबी छ।

आयोगले कुल आम्दानी र खर्चको तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको निष्कर्ष निकालेको हो।

अख्तियारले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीका नाममा खरिद गरिएको जग्गा, निर्माण गरिएको घर तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।

अब विशेष अदालतको इजलासले अभियोग र उपलब्ध प्रमाणका आधारमा मुद्दाको सुनुवाइ अघि बढाउनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...