धनगढीमा बिक्री हुँदै बाजुराको स्याउ
व्यापारीले मागेपछि ल्याइयो, सम्पर्कविहीन भएपछि किसान आफैं बजारमा
धनगढी- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादित करिब ५ सय ५० पेटी स्याउ धनगढी ल्याएर बिक्री गर्न थालिएको छ। तीन जना किसानले स्थानीय उत्पादनलाई बजार दिने उद्देश्यले स्याउ धनगढी ल्याएका हुन्।
स्याउको माग गरेका व्यापारी सम्पर्कमा नआएपछि किसानहरूले आफैं बिक्री सुरु गरेका थिए। गुनासो सार्वजनिक भएपछि सम्बन्धित व्यापारीले १ सय ३० पेटी स्याउ खरिद गरेको बताइएको छ भने बाँकी स्याउ धनगढीका विभिन्न स्थानबाट बिक्री भइरहेको छ।



हाल सकम्बरीस्थित बिक्री केन्द्र तथा धनगढी उपमहानगरपालिका कार्यालय अगाडि बन्देवी मन्दिरनजिकैको हाटबजारबाट स्याउ थोक तथा खुद्रा बिक्री भइरहेको छ।
रुपाली कृषि फर्मका सञ्चालक दानबहादुर रावलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न उपभोक्तालाई बाजुराको स्याउ खरिद गर्न आग्रह गरेका छन्। उनले किसानको उत्पादन खेर जान नदिन चिस्यान केन्द्र, ग्रेडिङ मेसिन र कृषि एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उचित बजार र भण्डारणको अभाव बाजुराका स्याउ किसानका लागि मुख्य चुनौती बनेको छ।
