काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सुरु भएको छ।
अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति पछाडि सारिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन भइरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय अवस्था र अनुकूलताअनुसार १३ असोजभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।

भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले अधिवेशनका लागि मिति समायोजनको विकल्प दिएपछि केही जिल्लाले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन्।


मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा शनिबार नै अधिवेशन सम्पन्न हुने र बाँकी स्थानमा सोमबारसम्म प्रक्रिया पूरा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार क्षेत्रीय अधिवेशनका क्रममा अहिलेसम्म कुनै ठूलो अवरोध वा समस्या देखिएको छैन। त्यसैले अधिकांश स्थानमा सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको उनले बताए।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्।
यसपटक नेपाली कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन नगर्ने भएको छ। कांग्रेसको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म आयोजना हुनेछ।
