देशभर झरीको क्रम जारी, गण्डकी र लुम्बिनीमा बढी केन्द्रित हुने
आज र भोलि पनि वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमप्रति सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि सुरु भएको वर्षा आज र भोलि पनि जारी रहने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ। निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले देशभर सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने महाशाखाले जनाएको छ।


आज गण्डकी र लुम्बिनीमा वर्षा बढी केन्द्रित हुने
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बिहानदेखि गण्डकी प्रदेशको समग्र भूभाग र लुम्बिनी प्रदेशको विशेषगरी महाभारत क्षेत्रदेखि तल्लो भूभागमा वर्षा बढी केन्द्रित हुने सम्भावना छ।
उनका अनुसार कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता केही कम हुने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
इलाममा सबैभन्दा धेरै वर्षा
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा मापन भएको छ। त्यहाँ ११४ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, इलामको जितपुरमा ९१ मिलिमिटर, काभ्रेको रोशीमा ९७.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर र सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन भएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो तथा तराईका केही भूभागमा डुबानको जोखिम हुन सक्ने भएकाले सम्बन्धित निकायको सूचना तथा मौसम पूर्वानुमानमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
