धनगढी- बाजुरामा स्याउ उत्पादन बढे पनि बजारको सुनिश्चितता नहुँदा किसान समस्यामा परेका छन्। गाउँमै खरिदकर्ता नआएपछि स्वामीकार्तिक खापर गाउँपालिकाका किसान दानबहादुर रावलले आफ्नैसहित अन्य किसानको ७५ क्विन्टल स्याउ संकलन गरी धनगढी ल्याएका छन्।


कर्णाली करिडोर हुँदै सुर्खेतबाट धनगढी ल्याइएको स्याउ अहिले प्रतिकेजी १२० रुपैयाँमा बिक्री भइरहेको छ। किसानका अनुसार बजार नपाउँदा कतिपय स्याउ बारीमै कुहिने तथा गाईगोरुलाई खुवाउनुपर्ने अवस्था आएको छ।

उत्पादन बढे पनि संकलन केन्द्र, शीतभण्डार र बजारको अभाव मुख्य समस्या बनेको किसानहरूको गुनासो छ। स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रले बजार व्यवस्थापन, भण्डारण तथा सहज ढुवानीको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ।
किसानले उत्पादन गरेको स्याउ खेर जान नदिन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न धनगढीका उपभोक्तालाई बाजुराको स्याउ खरिद गरी उपभोग गर्न आग्रह गरिएको छ।
