आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनीका पहाडी भू–भागका थोरै स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश तथा कोशी प्रदेशका तराई भू–भागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
यसअघि गत २४ घण्टामा पनि देशका केही स्थानमा भारी वर्षा मापन भएको थियो। वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
