हरितालिका तीज आज, शिव–पार्वतीको पूजा आराधना गर्दै व्रत बस्दै हिन्दू नारी

हिन्दू धर्मावलम्बी नारीहरूले आज देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत बस्ने धार्मिक परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार विवाहित महिलाले पतिको दीर्घायु, सुख–शान्ति तथा पारिवारिक कल्याणको कामना गर्दै र अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित तीजको व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि सामाजिक रूपमा महिलाले व्रत बस्ने परम्परा बढी प्रचलित छ।

Navadurga sun

भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्नाले सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

पार्वतीले महादेव पाउन गरेको कठोर तपस्या

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना सखीहरूलाई आफ्नो समस्या सुनाइन्।

पार्वतीको समस्याबारे थाहा पाएपछि सखीहरूले उनलाई हरण गरी कसैले नदेख्ने गुप्त स्थानमा लगेर राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत र कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक कथा छ।

सखीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यसैको सम्झनामा हरितालिका तीजको व्रत सुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्द मिलेर ‘हरितालिका’ बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी वा सखी भन्ने हुन्छ।

तीजमा नाचगान र मौलिक संस्कृति

तीजको अवसरमा महिलाहरू भेला भएर पूजा–आराधनासँगै नाचगान तथा मनोरञ्जन गर्ने गर्छन्। तीजका गीतमा भगवान् शिव–पार्वतीका भक्तिगाथासँगै महिलाका भावना, पारिवारिक अवस्था, सामाजिक अनुभव र आन्तरिक पीडासमेत अभिव्यक्त हुने गरेको पाइन्छ।

स्वास्थ्यअनुसार व्रत बस्न आग्रह

हरितालिका तीजको व्रत निराहार, जलाहार वा फलाहार गरी तीन प्रकारले बस्न सकिने धार्मिक मान्यता छ। तर व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई प्राथमिकता दिनुपर्ने धार्मिक तथा व्यवहारिक दृष्टिकोण रहेको छ।

स्वास्थ्यका कारण निराहार बस्न नसक्नेले पानी, फलफूल, दूध, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बालगायत सेवन गर्न सक्ने उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ। औषधि सेवन गर्नुपर्ने अवस्थामा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने मान्यता पनि रहेको छ।

विशेषगरी गर्भवती, दीर्घरोगी, वृद्धवृद्धा, नियमित औषधि सेवन गर्ने तथा कमजोर स्वास्थ्य भएका व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाहबिना लामो समय निराहार व्रत बस्नु उचित हुँदैन। धार्मिक आस्था कायम राख्दै आफ्नो स्वास्थ्यको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
देशभर मनसुनी वायुको प्रभाव, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ।

हाल देशका अधिकांश भू–भागमा सामान्यतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभरको मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...