कैलाली- कैलालीको कैलारी गाउँपालिकामा नमुना सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कैलारी गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना–डोटीको सहकार्यमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा पालिकाबाट प्रवाह भएका सेवा, विकास निर्माणका गतिविधि, सुशासन प्रवर्द्धन तथा जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ गरिएको हो।



कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगवतीकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले सहभागीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिएका थिए। कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, विषयगत शाखाका प्रमुख, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, सुरक्षाकर्मी तथा सर्वसाधारण गरी ११८ जनाको सक्रिय सहभागिता रहेको थियो।


सार्वजनिक सुनुवाइमा सहभागीहरूले सुशासन, विकास निर्माण, न्यायिक प्रक्रिया, भौतिक पूर्वाधार तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए। प्रश्नहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले निर्वाचनका क्रममा गरेका प्रतिबद्धतामध्ये करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताए। उनले संघ र प्रदेश सरकारसँग समन्वय गरेर सडक, शिक्षा, कृषि, सिँचाइ तथा नदी कटान नियन्त्रणलगायतका योजनामा काम भइरहेको जानकारी दिए।

कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता गोरबहादुर बिकले वडा नं. ६ मा बाटो तथा हसुलियादेखि बढैपुर जोड्ने सडक निर्माणको विषय उठाएका थिए। त्यसको जवाफमा अध्यक्ष चौधरीले स्थानीय बजेटले मात्रै ती आयोजना सम्भव नभएकाले संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको बताए। उनले स्थानीय तहप्रति जनअपेक्षा धेरै भए पनि सीमित बजेटका कारण सबै ठूला योजना तत्काल कार्यान्वयन गर्न कठिनाइ भएको उल्लेख गर्दै किसान लक्षित कार्यक्रमलाई भने प्राथमिकताका साथ सञ्चालन गरिएको बताए।
उपाध्यक्ष भगवतीकुमारी चौधरीले पालिकामा न्यायको खोजीमा आएका सबै सेवाग्राहीलाई निष्पक्ष न्याय प्रदान गरिएको बताइन्। उनले न्यायिक समितिका साथै योजना अनुगमन र सुशासन कायम गर्ने दायित्वअनुसार आफू सक्रिय रहेको उल्लेख गर्दै विकास निर्माणका काममा ढिलासुस्ती तथा गुणस्तरहीन कार्यलाई निरुत्साहित गर्दै आएको बताइन्।
यसैगरी, सहभागी झनक खनालले सार्वजनिक सुनुवाइबारे पर्याप्त सूचना प्रवाह नभएको गुनासो गरेपछि प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले पालिकाको आधिकारिक वेबसाइट, सूचनापाटी, वडाध्यक्ष तथा जनप्रतिनिधिमार्फत सूचना सार्वजनिक गरिएको स्पष्ट पारे। उनले पालिकाले आर्थिक वर्षभरि गरेका प्रगति विवरणसमेत प्रस्तुत गर्दै पालिका सुशासन, पारदर्शिता र जनमैत्री सेवा प्रवाहका सिद्धान्तअनुसार अघि बढिरहेको बताए।
करिब चार घण्टा सञ्चालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले जनचासोका विविध विषयमा खुलेर प्रश्न राखेका थिए भने जनप्रतिनिधि र कर्मचारीहरूले ती प्रश्नको प्रत्यक्ष जवाफ दिएका थिए।




