

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। असार १ गते हुने पहिलो प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश सभापति पदका लागि प्रतिस्पर्धा चर्किएको हो।


प्रदेश सभापति पदका प्रमुख दावेदारमा वर्तमान सभापति ई. प्रकाश बिष्ट, प्रतिनिधिसभा सदस्य केपी खनाल तथा सञ्चार उद्यमी जनकराज पन्त रहेका छन्। उनीहरूले संगठनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



वर्तमान सभापति प्रकाश बिष्टले पार्टी स्थापना कालदेखि संगठन विस्तारमा आफ्नो योगदान उल्लेख गर्दै निरन्तरताको पक्षमा मत मागिरहेका छन्। उनले सुदूरपश्चिमका सबै जिल्लामा संगठनलाई थप सुदृढ बनाउने योजना अघि सारेका छन्।
यस्तै सांसद खनालले प्रदेश संगठनलाई राष्ट्रिय नेतृत्वसँग प्रभावकारी रूपमा जोड्दै जनताका मुद्दा सशक्त रूपमा उठाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। अर्का दावेदार पन्तले सञ्चार क्षेत्रको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्दै युवापुस्तालाई पार्टीसँग थप जोड्ने लक्ष्य राखेका छन्।
अधिवेशनमार्फत प्रदेश सभापति, उपसभापति लगायतका पदाधिकारी चयन गरिनेछ। नेतृत्व सहमतिबाट वा निर्वाचनमार्फत चयन हुने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको छ। पहिलो प्रदेश अधिवेशन भएकाले रास्वपाले यसलाई संगठन विस्तार र सुदृढीकरणको महत्वपूर्ण चरणका रूपमा लिएको छ।