रास्वपा सुदूरपश्चिम सभापतिमा उम्मेदवारी घोषणा गर्दै पन्तद्वारा महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक

लक्ष्मी भट्ट/अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. जनकराज पन्तले सुदूरपश्चिम प्रदेश सभापतिको उम्मेदवारका रूपमा आफ्नो प्रतिबद्धता तथा भावी कार्ययोजना सार्वजनिक गर्नुभएको छ । अत्तरियास्थित प्रतिभा पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले सुदूरपश्चिम प्रदेशलाई सक्षम, व्यवस्थित, आर्थिक रूपमा आत्मनिर्भर तथा जनताप्रति उत्तरदायी संगठनका रूपमा स्थापित गर्ने स्पष्ट लक्ष्य प्रस्तुत गर्नुभयो ।

पत्रकार सम्मेलनमा रास्वपाका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख गोकर्ण भट्ट को पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै डा. पन्तले आफ्नो उद्देश्य केवल पद प्राप्त गर्नु नभई संगठनलाई परिणाममुखी, आधुनिक, अनुशासित र आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उहाँले आधुनिक प्रदेश पार्टी भवन निर्माण, प्रदेशस्तरीय सवारी साधनको व्यवस्था, दीर्घकालीन संगठनात्मक सुदृढीकरणका लागि स्थानीय कोष स्थापना तथा निरन्तरता, नेता–कार्यकर्ताका लागि नियमित तालिम, रास्वपा सुदूरपश्चिमको वेबसाइट निर्माण, आवश्यकताअनुसार पदाधिकारीका लागि बीमा सुविधा तथा जिल्लास्तरमा व्यवस्थित कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, पार्टी सदस्यका लागि निःशुल्क स्वास्थ्य उपचारको पहल, पार्टी कार्यालयलाई पूर्ण रूपमा स्मार्ट तथा सूचना प्रविधिमैत्री बनाउने, सुदूरपश्चिमका सबै जिल्लामा ‘घण्टी सपिङ मार्ट’ अवधारणामार्फत रोजगारी सिर्जना गर्ने तथा पार्टीभित्र एकता र सहकार्यलाई मजबुत बनाउने योजना पनि सार्वजनिक गर्नुभयो ।

डा. पन्तले समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै प्रदेशभित्रका सबै समुदायको प्रतिनिधित्व झल्किने प्रदेश समिति निर्माण गर्ने, राजनीतिलाई सेवाको माध्यमका रूपमा स्थापित गर्ने तथा पार्टीलाई अनुशासन, व्यवस्थापन र पारदर्शिताको दृष्टिले देशकै नमुना संगठन बनाउने लक्ष्य रहेको बताउनुभयो ।

साथै, सुदूरपश्चिम प्रदेशलाई रास्वपामय बनाउने, आगामी प्रदेश तथा स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमको मोडालिटी तयार गरी उम्मेदवारहरूलाई विजय गराउने, सुदूरपश्चिमका पर्यटकीय, धार्मिक तथा सामाजिक–आर्थिक सूचनाहरू समेटिएको वेबसाइट सञ्चालन गर्ने तथा एसइइमा उत्कृष्ट जीपीए प्राप्त विद्यार्थीहरूलाई छात्रवृत्तिमा अध्ययनको अवसर उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Loading...