चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको छ। गाउँपालिकाले ५९ महिनासम्मका १ हजार ४५२ जना बालबालिकाको घरधुरी सर्वेक्षण गरी पूर्णखोपको अवस्था सुनिश्चित गरेको जनाएको छ।

पालिकाका जनस्वास्थ्य निरीक्षक बिक्रमबहादुर बोहराका अनुसार १५ महिनामुनिका ३८८ जना बालबालिकाले नियमित खोप प्राप्त गरिरहेका छन् भने १६ देखि ५९ महिनासम्मका १ हजार ६४ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेका छन्।

Navadurga sun

पूर्ण खोप सुनिश्चितता निर्देशिकाअनुसार आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरेपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको अवस्था हासिल गरेको हो। यस उपलब्धिमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय भूमिका रहेको जनाइएको छ।

जिल्ला पूर्ण खोप समन्वय समिति, कैलालीद्वारा प्रदान गरिएको प्रमाणपत्रले गाउँपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि गरेको छ।

गाउँपालिकाले यसलाई बालबालिकाको स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण उपलब्धि भन्दै आगामी दिनमा नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने तथा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गर्न समुदायस्तरमा सचेतना, निगरानी र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...