कृष्णपुरमा जग्गा नापनक्सा कार्य सुरु, लालपुर्जाविहीन नागरिकलाई राहतको अपेक्षा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ र ६ मा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि जग्गा नापनक्सा कार्य सुरु गरिएको छ। सोमबार नगर प्रमुख हेमराज ओझा ले औपचारिक रूपमा नापनक्सा कार्यको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा नगर प्रमुख ओझाले अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको समस्या समाधानलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै केही महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नापनक्सा कार्यलाई विवादरहित र प्रभावकारी बनाउन स्थानीयलाई मापदण्डअनुसार सहयोग गर्न आग्रह गरे।

Navadurga sun

भूमि समस्या समाधान आयोग तथा सम्बन्धित निकायको समन्वयमा सञ्चालन गरिएको नापनक्सा कार्यबाट लामो समयदेखि लालपुर्जाविहीन रूपमा बसोबास गरिरहेका नागरिकले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने अपेक्षा गरिएको छ। अत्याधुनिक उपकरण प्रयोग गर्दै प्राविधिक टोलीले नापनक्सा कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सम्बन्धित वडाका बासिन्दालाई आवश्यक कागजातसहित प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। स्थानीयवासीले वर्षौंको प्रतीक्षापछि नापनक्सा सुरु हुँदा जग्गा व्यवस्थापन र लालपुर्जा वितरणको बाटो खुलेको बताएका छन्। स्थानीय सुरेश बिकका अनुसार यस अभियानले दीर्घकालीन भूमि समस्या समाधानमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...