

धनगढी- सुदूरपश्चिम प्रदेशदेखि केन्द्रसम्म नयाँ सत्ता समीकरणको सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा चुलिएका बेला सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ले एमाले अध्यक्ष केपी शर्मा ओली सँग भएको संवादको सन्देश लिएर कांग्रेस नेता गगन थापा सँग भेटवार्ता गरेका छन् ।


कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेटमा केन्द्रदेखि सुदूरपश्चिम प्रदेशसम्मको सम्भावित सत्ता सहकार्य, प्रदेश राजधानी कार्यान्वयन, आगामी राजनीतिक रणनीति तथा दलहरूबीचको सम्बन्धबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ ।


मुख्यमन्त्री शाहले त्यसअघि भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष ओलीसँग छुट्टै भेट गरेका थिए । उक्त भेटमा कांग्रेस, एमाले र नेकपासम्मलाई समेट्ने सम्भावित राजनीतिक सहकार्यबारे प्रारम्भिक संवाद भएको दाबी गरिएको छ । ओलीसँग भएको त्यही छलफलको ‘ब्रिफिङ’ लिएर शाह सानेपा पुगेको कांग्रेस निकट स्रोतको भनाइ छ ।

शाह र थापाबीच करिब आधा घण्टाभन्दा बढी समय संवाद भएको बताइएको छ । भेटमा ओलीको स्वास्थ्य अवस्था, केन्द्रमा बदलिँदो राजनीतिक समीकरण, कांग्रेस–एमाले सहकार्यको सम्भावना तथा सुदूरपश्चिम प्रदेश राजधानी कार्यान्वयनमा देखिएका विवाद र जटिलताबारे समेत विस्तृत कुराकानी भएको जनाइएको छ ।
विशेषगरी प्रदेश राजधानी कार्यान्वयनमा भइरहेको ढिलाइ, स्थानीय असन्तुष्टि र प्रशासनिक चुनौतीबारे मुख्यमन्त्री शाहले पार्टी नेतृत्वलाई जानकारी गराएको स्रोतले बताएको छ । साथै, एमाले नेतृत्वसँग भइरहेको संवादको राजनीतिक सन्देश पनि उनले गगन थापासमक्ष राखेका थिए ।
राजनीतिक वृत्तमा अब केही दिनभित्र गगन थापा र केपी शर्मा ओलीबीच निर्णायक भेटघाट हुने चर्चा छ । उक्त भेटपछि केन्द्रीय सत्ता सहकार्यको नयाँ खाका सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
यता नेपाल कम्युनिष्ट पार्टी ले पनि एमालेसँग समानान्तर रूपमा सहकार्यको संवाद अघि बढाइरहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण र सत्ता समीकरणको सम्भावना थप बलियो बनेको विश्लेषण गरिएको छ ।

