

कञ्चनपुर- महेन्द्र राजमार्ग अन्तर्गत चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले कडा कदम अघि बढाएको छ ।


कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र निर्माण गरिएका अनाधिकृत घर, टहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।


सूचना अनुसार सडक विभागको पूर्वस्वीकृति बिना बनाइएका संरचना सम्बन्धित धनी आफैंले आगामी जेठ १४ गतेभित्र हटाइसक्नुपर्नेछ । तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने कार्यालयले स्वयं डोजर प्रयोग गरी संरचना हटाउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिइएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार सडक सुरक्षा, यातायात व्यवस्थापन तथा सडक विस्तार कार्यलाई प्रभावकारी बनाउन अतिक्रमण हटाउनु आवश्यक भएको हो । पछिल्ला वर्षहरूमा राजमार्ग आसपास अनधिकृत संरचना बढ्दै जाँदा सडक साँघुरिने, दुर्घटनाको जोखिम बढ्ने तथा यातायात सञ्चालनमा समस्या उत्पन्न हुने गरेको बताइएको छ ।
कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । साथै स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अभियानलाई प्रभावकारी बनाइने तयारी गरिएको छ ।
यस अभियानले महेन्द्र राजमार्गलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन विकासका लागि उपयुक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


