बझाङमा बेपत्ता २ जनाको शव फेला, २१ जनाको खोजी जारी




बझाङ, ३ कार्तिक– पहिरोमा परी बेपत्ता भएका बझाङको थलारा गाउँपालिका ४ डिक्लाका दुई जनाको शव फेला परेको छ । थलारा गाउँपालिका ४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधबार दिउँसो दुई जना बच्चाको शव फेला परेको हो ।



यद्यपि, उनीहरुको पहिचान भने खुल्न सकेको छैन । पहिरोमा पुरिएकाको उद्धार तथा खोजीका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ ।


स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ताहरुको खोजीमा लागेको वडाध्यक्ष विष्टले जानकारी दिए । थलारा गाउँपालिका ४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए ।
गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा २ गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएको छ । बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका ८ र नरे पार्कीका एकै घरका ५ जना रहेका छन् ।



