

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेसभित्रै नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । दोस्रो कार्यकाल सम्हालिरहेका शाहलाई हटाउने वा स्वयं राजीनामा दिनुपर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको कांग्रेसकै प्रदेशसभा सदस्यहरूले बताएका छन् ।


कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्ट ले मुख्यमन्त्रीको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै राजीनामाको विषयमा छलफल भइरहेको बताएका छन् । शाह हाल ह्वीलचेयर प्रयोग गरिरहेका छन् ।



यता, कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास पनि भइरहेको चर्चा छ । केही नेताहरूले विशेष महाधिवेशनपछि पार्टी नेतृत्वमा प्रभावशाली बनेका गगन थापा पक्षसँग समन्वय गर्दै मुख्यमन्त्री फेरबदलको तयारी गरिरहेको बताइएको छ । मुख्यमन्त्री शाहले गगन थापालाई सभापति मान्न नसकिने अभिव्यक्ति दिएको भन्दै केन्द्रीय नेतृत्वसमक्ष पनि असन्तुष्टि पुगेको स्रोतको दाबी छ ।
केही प्रदेश सांसदहरूले काठमाडौं पुगेर सभापति गगन थापा सँग भेटवार्ता गरेको पनि जनाइएको छ । तर, कांग्रेसका अधिकांश प्रदेश सांसद अझै शेरबहादुर देउवा पक्षमा रहेकाले मुख्यमन्त्री शाहलाई तत्काल हटाउन सहज अंकगणित भने देखिँदैन ।
मुख्यमन्त्री शाहप्रति असन्तुष्टि राख्नेमा प्रदेशसभा सदस्य पदमबहादुर शाही र मानबहादुर रावल को नाम पनि चर्चामा छ । वन मन्त्रालय लामो समय आफैंसँग राखेर पछि शिवराज भट्ट लाई मन्त्री नियुक्त गरेपछि कांग्रेसभित्र थप असन्तुष्टि बढेको बताइएको छ । हाल सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थन रहेको छ ।

