

बझाङ- बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१०, जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली ‘खुकुरी’ ब्रान्डको चुरोट बोकेको मिनी ट्रक नियन्त्रणमा लिएको छ ।


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३२ वर्षीय पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी १० डण्डा नक्कली चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ ।



गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा उक्त चुरोट फेला पारेको हो ।
घटनामा संलग्न रहेको आरोपमा चालक चौधरीसँगै ट्रकका साहु, बैतडीको पाटन नगरपालिका–२ निवासी २१ वर्षीय हेमराज पाण्डेयलाई पनि शनिबार साँझ पक्राउ गरिएको छ।
प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।





