

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको अतरियास्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाले २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमसहित मनाएको छ । गुम्बाको नेतृत्वमा बिहान अतरिया बजार परिक्रमा गर्दै शान्ति र्याली निकालिएको थियो ।


र्यालीपछि विश्व शान्तिको कामना गर्दै शान्तिका दूत गौतम बुद्धको आराधना गरिएको गुम्बाले जनाएको छ ।


कार्यक्रममा गुम्बाका अध्यक्ष गोपाल तामाङले अहिले विश्वभर फैलिएको द्वन्द्व र अशान्तिको अवस्थामा बुद्धका शान्ति सन्देश र दिव्य वचनहरू अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो ।

गुम्बाका प्रमुख लामा गणेश मोक्तान, स्थानीय बासिन्दा, लामाहरू तथा साधना पथ एकेडेमी, ज्ञान ज्योति बोर्डिङ स्कुल र जनकल्याण बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा करिब सयदेखि डेढ सयसम्म सहभागी भएका थिए ।
र्याली कार्यक्रमको समापनपछि गुम्बामा नित्य पूजापाठ सम्पन्न गरिएको थियो ।
यसैबीच, बुद्ध जयन्तीको अवसरमा राष्ट्रभर मात्र नभई विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी बुद्धको महिमा र सन्देशको प्रचार–प्रसार भइरहेको छ । तर अतरियास्थित यो गुम्बा भने आवश्यक ध्यान र संरक्षणको अभावमा ओझेलमा परेको देखिन्छ ।
स्थानीयहरूले गुम्बालाई ऐतिहासिक रूपमा संरक्षण गरी यसको समुचित विकास गर्न आवश्यक रहेको बताएका छन् ।





