


डडेलधुरा- करिब तीन वर्षदेखि सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवा डडेलधुरामा बन्द भएको छ। यातायात व्यवस्था कार्यालयले निजी ड्राइभिङ सेन्टरसँग गरेको सम्झौता खारेज गरेपछि सेवा रोकिएको हो।


२०७९ असारदेखि उग्रतारा ड्राइभिङ सेन्टरसँगको सम्झौताअनुसार ट्रायल सेन्टर प्रयोग गरी लाइसेन्स परीक्षा सञ्चालन हुँदै आएको थियो। तर सेवाग्राहीबाट सवारीसाधन प्रयोग गरेबापत अनावश्यक र मनोमानी शुल्क लिएको गुनासो बढेपछि सम्झौता खारेज गरिएको यातायात व्यवस्था कार्यालय डडेलधुराले जनाएको छ।



कार्यालय प्रमुख विष्णुदत्त भट्टका अनुसार पटक–पटक मौखिक रूपमा बढी शुल्क नलिन निर्देशन दिइए पनि पालना नभएपछि वैशाख ३ गतेको निर्णयअनुसार सम्झौता तोडिएको हो। सम्झौताअनुसार ट्रायल सञ्चालन गरेबापत दैनिक ५,५०० रुपैयाँ भुक्तानी गरिँदै आएको थियो।
सेवा बन्द भएपछि अब लाइसेन्स परीक्षा सञ्चालनका लागि कार्यालयसँग तीन विकल्प रहेका छन्। पहिलो विकल्प आफ्नै ट्रायल सेन्टर निर्माण गर्ने हो, जसका लागि अमरगढी नगरपालिका स्याउले बजार नजिक सरकारी जमिनमा डीपीआर तयार भइसकेको छ। दोस्रो विकल्प निजी जमिन भाडामा लिएर संरचना निर्माण गर्ने हो भने तेस्रो विकल्प लिखित तथा बायोमेट्रिक परीक्षा डडेलधुरामै गरी ट्रायल परीक्षा डोटीको दिपायलस्थित कार्यालयमा सार्ने हो।
कार्यालयले सरकारी जमिनमा रहेको १४ रोपनीभन्दा बढी क्षेत्रफलमा ट्रायल सेन्टर निर्माण गर्न सके सेवा छिट्टै पुनः सुरु गर्न सकिने जनाएको छ।





