अत्तरिया- सुदूरपश्चिम प्रदेशमा पुस्तकालय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले पाँच दिने आधारभूत पुस्तकालय तालिम सञ्चालन गर्ने भएको छ।


नेपाल पुस्तकालय संघको संयोजन तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केसर पुस्तकालय र गोदावरी नगरपालिकाको सहकार्यमा आयोजना हुने तालिम बैशाख ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ।



पुस्तकालयका अध्यक्ष भुपेश जोशीका अनुसार तालिमको उद्देश्य पुस्तकालयमा कार्यरत जनशक्तिको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु हो। तालिम व्यवस्थापनका लागि विभिन्न उप–समिति गठन गरिएको छ।
कार्यक्रममा प्रदेशभरका करिब ४० जना ग्रन्थपाल तथा कर्मचारी सहभागी हुनेछन् भने सहजीकरण केसर पुस्तकालयका प्रमुख यादव निरौला र नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेले गर्नेछन्।
यस अवसरमा ‘प्रतिभा स्मारिका’ को छैटौं अंकसमेत विमोचन गरिनेछ।





