धनगढी- प्रतिनिधिसभा सदस्य चुनावअन्तगर्त थ्रेसहोल्ड कटाएर समानुपातिकमा सिट पाएका सबै राजनीतिक दलहरूले बन्दसूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका छन् ।


आयोगमा दलहरूले बुझाएको सूचीमा सुदूरपश्चिमका ११ जनाको नाम छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमबाट ६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ तथा नेपाली कांग्रेस र एमालेले १\१ जनालाई सांसद बनाउन आयोगलाई नाम पठाएको छ । प्रत्यक्षमा प्रदेशमा रहेका १६ मध्ये १० सिटमा जित निकालेको (रास्वपा) समानुपातिकमा सुदूरपश्चिमका ६ जनालाई समेटेको छ । रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।



उक्त सूचीअनुसार खसआर्य महिलाको पहिलो नम्बरमा कञ्चनपुरकी प्रतिभा रावलको नाम छ । सोही क्लस्टरमा डडेल्धुराकी आकृती अवस्थी, अछामकी टीका संग्रौला र रत्ना थापा पनि अटाएकी छिन् । संग्रौला र थापा पिछडिएको क्षेत्रबाट सांसद बन्न लागेका हुन् । यस्तै, थारु महिला क्लस्टरबाट रास्वपाले कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि समेटेको छ।
प्रत्यक्षमा निल भएको नेकपाले भने सुदूरपश्चिमबाट समानुपातिकमा ३ जनालाई सांसद बनाउने भएको छ । थारु महिलामा कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गतामा कैलालीका प्रेम बयक र दलित क्लस्टरमा बझाङका गणेशबहादुर बिकलाई नेकपाले सांसद बनाउन निर्वाचन आयोगलाई नाम पठाएको हो ।
प्रत्यक्षतर्फ प्रदेशभर ३\३ सिट जितेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने समानुपातिकका सुदूरपश्चिमका १\१ जनालाई मात्रै सांसद बनाउने भएका छन् । कांग्रेसले दलित महिलाको क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामी र एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाउन आयोगमा नाम पठाएको छ । थ्रेसहोल्ड कटाएका अन्य दलबाट भने सुदूरपश्चिमका कसैको नाम पनि समानुपातिक सूचीमा अटाएको छैन ।





