


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्थित समैजी माध्यमिक विद्यालयमा दुई कोठे पक्की भवनको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले कार्यक्रममा भवनको शिलान्यास गर्नुभयो ।



भट्टले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको र नगरभित्रका ५४ विद्यालयमा विषयगत शिक्षक अभाव समाधान भइसकेको जानकारी दिनुभयो । केही विद्यालयमा महिला प्रधानाध्यापकको नेतृत्वमा शैक्षिक गुणस्तरमा सुधार देखिएको उल्लेख गर्दै, पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा जोड दिइने बताए ।


विद्यालय प्रधानाध्यापक बिन्दु कुमारी बलायरका अनुसार, नगरप्रमुख भट्टको पहल र अर्थ राज्यमन्त्री प्रकाश बमको सहजीकरणमा भवन निर्माण प्रक्रिया अघि बढेको हो । करिब ८ सय विद्यार्थी अध्ययनरत विद्यालयमा जीर्ण भवनका कारण पठनपाठन प्रभावित हुँदै आएको थियो ।
नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरिएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।





