कैलाली–४ मा विकास एजेण्डासहित भट्टको घोषणा, अत्तरिया–धनगढी सडकमा आकाशे पुल प्राथमिकतामा

अत्तरिया- कैलाली क्षेत्र नं. ४ का प्रतिनिधि सभा प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा आकाशे पुल निर्माण गर्ने प्रमुख प्रतिबद्धता सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको आफ्नो प्रतिबद्धता–पत्रमार्फत उनले “नो सेटलमेन्ट, वनली डेभलपमेन्ट” एजेण्डा अघि सार्दै समग्र विकासको खाका प्रस्तुत गरेका हुन्।

उम्मेदवार भट्टले कैलाली–४ को दीगो तथा समग्र विकासलाई लक्ष्य बनाउँदै आफूले कार्यान्वयन गर्न सक्ने योजनाहरू मात्र समेटिएको बताएका छन्। उनले यस क्षेत्रसँगै सुदूरपश्चिम प्रदेश लाई आर्थिक, शैक्षिक, पर्यटकीय र पूर्वाधार विकासका दृष्टिले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Navadurga sun

स्वास्थ्य क्षेत्रमा विशेष जोड

स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकता दिँदै कैलाली–४ भित्र सुविधासम्पन्न अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ। जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई निःशुल्क उपचारको व्यवस्था गरिने उल्लेख छ। प्रत्येक वडामा महिनामा कम्तीमा एक पटक विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने तथा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

उद्योग तथा रोजगारी सिर्जनामा पहल

उद्योग र रोजगारीतर्फ बढ्दो बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्यसहित कृषि, जडिबुटी, वन र ऊर्जामा आधारित उद्योग स्थापना गर्न आन्तरिक तथा बाह्य लगानी भित्र्याउने पहल गरिने जनाइएको छ। अत्तरियामा पाँचतारे होटल सञ्चालनको वातावरण निर्माण, सुदूरपश्चिममा निर्यातमुखी उद्योग प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना तथा “एक घर–एक रोजगारी” अवधारणा अनुसार रोजगारी सेवा केन्द्र स्थापना गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

शिक्षा र खेलकुदको विकास योजना

शिक्षा तथा खेलकुद क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी सुविधासम्पन्न बनाउने, प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्ने, प्रत्येक विद्यालयमा उच्च गतिको इन्टरनेटसहित कम्प्युटर ल्याब सञ्चालन गर्ने योजना अघि सारिएको छ। साथै खेलमैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने र अन्तर्राष्ट्रिय स्तरको आविष्कार तथा नवप्रवर्तन (एआई) केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।

पर्यटन विकासमा एकीकृत रणनीति

पर्यटन क्षेत्रतर्फ कैलाली–४ भित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान र एकीकृत विकास गरिने जनाइएको छ। अत्तरियामा पर्यटन सूचना केन्द्र स्थापना, “भिजिट सुदूरपश्चिम” अभियान सञ्चालन, जनजातीय संस्कृति झल्कने होमस्टे प्रवर्द्धन तथा प्रशिक्षित गाइड उत्पादन गरिने योजना उल्लेख छ। साथै गोदावरी धाम लाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पूर्वाधार विकासलाई प्राथमिकता

पूर्वाधार विकासतर्फ क्षेत्रका मुख्य नदीहरूमा तटबन्ध निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिने, सडक सञ्जाल स्तरोन्नति गरिने, खानेपानी र विद्युत् सेवा विस्तार गरिने योजना सार्वजनिक गरिएको छ। बजार क्षेत्रलाई हरित तथा उज्यालो सहरका रूपमा विकास गर्ने तथा अत्तरिया बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाइने उल्लेख गरिएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण

कृषि क्षेत्रतर्फ आधुनिक कृषि प्रविधिको विस्तार, सिंचाइ व्यवस्थापन सुदृढीकरण, कृषि उत्पादनको प्रशोधन र बजारीकरणमा जोड दिइने तथा किसानलाई सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने कार्यक्रम समेटिएको छ। उम्मेदवार भट्टले प्रस्तुत प्रतिबद्धता–पत्र कार्यान्वयन योग्य र परिणाममुखी रहेको दाबी गरेका छन्।

आकाशे पुल निर्माणको प्रस्ताव

यसैबीच, अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अत्यन्त व्यस्त तथा दुर्घटना बढी हुने जोखिम क्षेत्रका रूपमा परिचित रहेको उल्लेख गर्दै भट्टले यहाँ आकाशे पुल निर्माण अपरिहार्य भएको बताएका छन्। पछिल्ला वर्षहरूमा उक्त सडक खण्डमा भएका सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएको र कैयौँ घाइते भएको तथ्यलाई मध्यनजर गर्दै दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ छ।

पैदल यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न आकाशे पुल निर्माण गरिने र स्थानीय नागरिक, विद्यार्थी, व्यापारी तथा दैनिक यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी योजना अघि बढाइने उनले स्पष्ट पारेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...