


धनगढी- नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरनारायण शाह (मनु) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।


धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेस कैलाली क्षेत्रीय सभापति भिम पडाल ले उम्मेदवार शाहको प्रतिबद्धतापत्र वाचन गरी सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्रमा नीति तथा कानून, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन, पर्यटन र समावेशी विकासलाई प्राथमिक एजेन्डा बनाइएको छ।


प्रतिबद्धतापत्रमार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने उद्देश्यसहित प्रतिनिधि सभा तथा संसदका विभिन्न समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरिएको छ। शाहले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजना, महाकाली करिडोर, सेती लोकमार्ग, २२० केभी प्रसारण लाइन, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न संघीय सरकारसँग पहल गर्ने, भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया तथा मुक्त हलियाको दीर्घकालीन समस्या समाधान गर्दै लालपूर्जा वितरण प्रक्रिया तीव्र बनाइने प्रतिबद्धतामा उल्लेख छ।
युवा पुस्तालाई केन्द्रमा राख्दै आधुनिक सूचना प्रविधि पार्क स्थापना, युवा संवाद तथा नवप्रवर्तन प्लेटफर्ममार्फत जेन–जीको आवाज नीतिमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरिएको छ। साथै धनगढीमा प्रस्तावित नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापनाका लागि जग्गा र पूर्वाधारको व्यवस्था गर्ने पहल गरिने बताइएको छ।
स्वदेशमै रोजगारी सिर्जनाका लागि सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर, स्टार्टअप इकोसिस्टम विकास तथा निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माणमा संसदमा सक्रिय भूमिका खेल्ने शाहले बताएका छन्। लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि अभिभावक, विद्यालय र स्थानीय प्रशासनको सहकार्यमा अभियान सञ्चालन गरिने उल्लेख छ।

स्वास्थ्य क्षेत्रमा गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी मेडिकल अध्ययन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गर्ने, सेती प्रादेशिक अस्पतालको संगठनात्मक संरचना सुधार गर्ने तथा २५ शैयाको अस्पताल स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल कक्षा, विज्ञान प्रयोगशाला र प्रविधिमैत्री शिक्षा प्रवर्द्धनका लागि बजेट सुनिश्चित गर्ने अठोट गरिएको छ। खेलकुदतर्फ धनगढी रंगशालालाई आधुनिक बनाउने र विभिन्न वडाका खेलमैदान स्तरोन्नति गर्ने योजना छ।
कृषि क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ र ट्युबेल मर्मत, कृषि पकेट क्षेत्र विकास, उत्पादनको बजारीकरण तथा अनुदान प्रणालीलाई पारदर्शी बनाइने उल्लेख छ। खाद्य आत्मनिर्भरता, मलको समयमै आपूर्ति, गुणस्तरीय बीउ तथा प्राविधिक सेवाको पहुँच विस्तार गर्ने योजना पनि समेटिएको छ।
कैलालीमा औद्योगिक क्षेत्र स्थापना, आन्तरिक तथा वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत रोजगारी सिर्जना गर्ने नीति अघि सारिएको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा वर्षायाममा हुने डुबान र नदी कटानको दीर्घकालीन समाधानका लागि बृहत्तर तटबन्धन योजना सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, दलित, आदिवासी जनजाति, थारु, रानाथारु, मुस्लिम, महिला, लैंगिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको समावेशी विकासलाई प्राथमिकता दिइने उल्लेख छ। साथै श्रमिक हकहित, सामाजिक सुरक्षा कोष, महिला सशक्तीकरण र स्वरोजगार कार्यक्रमलाई जोड दिइएको छ।
पर्यटन र संस्कृतिको विकासका लागि कनरी पार्क, नेतुवा ताल, बेहडाबाबा, शिवपुरीधाम, जाखोर ताल लगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, थारु तथा रानाथारु होमस्टे प्रवर्द्धन गर्ने र जातीय संग्रहालय निर्माण गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समावेश छ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार शाहले जनताको अपेक्षा, सुझाव र सल्लाहलाई केन्द्रमा राखेर इमानदार, जवाफदेही र परिणाममुखी भूमिका निर्वाह गर्ने बताएका छन्। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।





