अत्तरिया- दुग्ध विकास संस्थान (डीडीसी) ले कैलालीको अत्तरियास्थित दुग्ध विकास आयोजना स्थानान्तरण गरी धनगढीबाट दुग्ध उत्पादन सुरु गरेको छ। अत्तरियामा लामो समयसम्म तालाबन्दी, आन्दोलन तथा आयोजनाका लागि उपयुक्त जग्गा उपलब्ध हुन नसकेपछि डीडीसीले आयोजना धनगढी सारेको हो।




आयोजनालाई धनगढी–१५ कनरीमा सार्ने विषयमा करिब सात महिनासम्म अन्योल रहँदै आएको थियो। अन्ततः डीडीसीले पुस ३० गतेदेखि धनगढीबाट दुग्ध संकलन, उत्पादन, वितरण तथा प्रशासनिक कार्य सुरु गरेको जनाएको छ। पुस १४ गते कार्यालय स्थानान्तरण गरिए पनि कारखाना सार्ने क्रममा केही अवरोध देखिएको थियो।


डीडीसीका अनुसार हाल धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदाममा कार्यालय तथा उद्योग सञ्चालनमा ल्याइएको छ। सबै मेसिन तथा उपकरण धनगढी ल्याइसकिएको र उत्पादन नियमित रूपमा भइरहेको संस्थानले जनाएको छ।
आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार हाल कारखाना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। “धनगढीबाटै दुग्ध संकलन र उत्पादन भइरहेको छ,” उनले भने, “व्यवस्थापन सुधार गर्दै आगामी दिनमा उत्पादन अझ बढाउने योजना छ।”




